आदर्श जोडी २०७६’बाट निश्चल र स्वस्तिमा सम्मानित

प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६

निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई ‘आदर्श जोडी सम्मान २०७६’ बाट सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने तीज माईती मेला २०७६ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै यो जोडीलाई सम्मान गरिएको हो।

श्रीमान-श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफल समेत बनेको जोडीलाई हरेक बर्ष आयोजना हुने तीज कार्यक्रममा सम्मानित गरिने र आजसम्म निरन्तर गरिँदै आएको आयोजक संस्था ललित ब्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरकी अध्यक्ष मिना कुमारी रिमालले बताईन् । सात बर्षदेखी हरितालिका तीजको अवसरमा लगातार हुँदै आएको उक्त कार्यक्रम यस बर्षदेखी ’सबैको लागि मनोरञ्जन र उत्सव’ भन्ने उद्देश्यसहित खुल्ला रुपमा मेला सहित निःशुल्क प्रवेश सहित शुरु गरिएको रिमालको भनाई छ।


तीज माईति मेलाको उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमूख अतिथी थिए भने प्रमूख जिल्ला अधिकारी प्रेमराज जोशी बिशिष्ट अतिथी थिए । कार्यक्रमा बोल्दै मेयर महर्जनले यस प्रकारका कार्यक्रमहरुले नेपालको साँस्कृतिक महत्वलाई जोगाईराख्ने बिश्वास व्यक्त गरे । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर, बिभिन्न प्रख्यात कलाकारहरु लगायतको पनि उपस्थिती तथा प्रस्तुती रहेको थियो।

तीज मेलाको आयोजना ललित ब्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र जावलाखेलमा अवस्थित ललित फरिया घरले गरेको हो । कार्यक्रममा गायिका मिना निरौला, गायिका मञ्जु पौडेल, गायक यमन श्रेष्ठ, गायिका जुनु रिजाल लगायतको उपस्थिती रहेको थियो । तीज माईती मेला श्रावण १८ गतेसम्म चल्ने बताईएको छ ।